११ पुस, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको दायरा फराकिलो बनाइएको छ । धेरैलाई यो जिज्ञासा हुन सक्छ कि यसपटक कुन-कुन निकाय र व्यक्तिहरूमा आचारसंहिता पूर्ण रूपमा लागू हुनेछ ?

नेपालमा यसअघिका निर्वाचनहरूको अनुभवले आचारसंहिताको सामान्य दायरा बारे धेरैलाई जानकारी हुन्छ नै । तर निर्वाचन आयोगले तयार पारेको र हाल परामर्श तथा अन्तिम रूप दिइरहेको निर्वाचन आचारसंहिता–२०८२ अनुसार नेपाल सरकारका मन्त्रीहरूलाई पूर्ण तथा कडा रूपमा आचारसंहिता लागू हुनेछ ।

यसै गरी प्रदेश सरकार तथा प्रदेश मन्त्रीहरू, संवैधानिक निकाय र तिनका पदाधिकारीहरू, संघीय र प्रदेश सरकार मातहतका निकाय तथा पदाधिकारीहरूलाई पनि आचारसंहिता पूर्ण लागू हुने प्रावधान छ ।

स्थानीय तहका कार्यपालिका र सदस्यहरू, संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारीहरू, सुरक्षा निकाय र सुरक्षाकर्मीहरू, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थानका कार्यालय र कर्मचारीहरूलाई पनि आचारसंहिता अनिवार्य पालना गर्नुपर्नेछ ।

राजनीतिक दल र तिनका भ्रातृ संगठनहरू, उम्मेदवार र सम्बन्धित व्यक्ति, दलका निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिहरूलाई आचारसंहिता कडाइका साथ लागू हुने प्रस्ताव छ ।

सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समिति र अनुगमनकर्ता, निर्वाचन पर्यवेक्षण संस्था तथा पर्यवेक्षकहरू, सञ्चार माध्यम र तिनका पदाधिकारी तथा कर्मचारीहरू, विद्यालय, कलेज वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी परियोजना र तिनका कर्मचारीहरू, मतदाता शिक्षा सञ्चालन गर्ने संस्था र कर्मचारीहरूलाई पनि आचारसंहिता पूर्ण रूपमा लाग्नेछ ।

यसबाहेक निजी क्षेत्रका बैंक, वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्रका पदाधिकारी, कर्मचारी र कामदारहरू, वस्तु तथा सेवा प्रदायक व्यवसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारहरू र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिहरूलाई पनि आचारसंहिता लागू हुने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका अनुसार यो आचारसंहिता आवश्यक सुझाव तथा परिमार्जनपछि छिट्टै नै औपचारिक रूपमा लागू हुनेछ । यसले निर्वाचनलाई थप पारदर्शी र निष्पक्ष बनाउने अपेक्षा गरिएको छ । आयोगले सबै पक्षलाई आचारसंहिता पालना गर्न आग्रह गर्दै उल्लङ्घनमा कडा कारबाही हुने चेतावनी पनि दिएको छ ।

By admin